काठमाडौं ।
सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमवुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित नगरेकाले यो अवस्था आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पन्छिरहेको छ ।
उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ एक भएको बताउँछन् । भैरहवा विमानस्थल आउने विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् ।
भैरहवा र पोखरा विमानस्थललाई लक्षित गरेर प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भएको छैन । त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणले खासै जोडबल पनि लगाएका छैनन् । मन्त्रालयका सहसचिव बुद्धिसागर न्यौपाने भने नयाँ एयर रुट र प्रस्थान बिन्दुबारे भारत सरकारसँग आवश्यक पहल र समन्वय भइरहेको बताउँछन् ।
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रस्थान विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ । भारतको असहमति र नेपालको कमजोर कुटनीतिक पहलले ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल सुनसान बन्ने अवस्थामा पुगेको छ ।
२०७९ कार्तिक ९, बुधबार १५:३४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech