२०७९ कार्तिक १६, बुधबार १६:२७

काठमाडौं  -पुँजी बजारमा सकारात्मक माहोल जारी रहेको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा तेजी आइरहेको छ । बुधबार नेप्से सूचक ७।३२ अंकले बढेर १९३८।३० विन्दुमा आइपुगेको छ । १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । तिहारपछि दैनिक कारोबार रकम प्रत्येक दिन बढिरहेकाले लगानीकर्ता उत्साहित भएको अनुमान गरिएको छ । सूचकसहित कारोबार रकम बढ्दा लगानीकर्ताले खरिदक्रम बढाएको बुझ्न सकिने विश्लेषकहरु बताउँछन् ।

निर्वाचन माहोल र लाभांश सिजनका कारण बजारमा सकारात्मक अवस्था उत्पन्न भएको हो । १४ महिनादेखि निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो हुनु, यही बेला लाभांश पाइनु अनि चुनावका कारण बजारमा पैसा पनि आउने अनुमानसहित लगानीकर्ता आकर्षित भएको विश्लेषण हुन थालेको छ । त्यसो त सेयर बजार सधैं एउटै रेखमा हिँड्दैन । तलमाथि गरिरहने यसको विशेषता हुन्छ । यअसघि बजार निकै घटेकाले भ्याल्यू इन्भेष्टर्स र ट्रेडरहरु दुवै आकर्षित भएको अनुमान गरिएको छ ।

अहिले सेयर खरिद गर्नेले तत्काल लाभांश पाउन सक्छन् । एक वर्षको अवधिमा २ पटक लाभांश हात पार्ने अवस्था छ । किन भने अहिलेको लाभांश पनि पाइने र अर्को वर्ष यही बेला पनि पुनः अर्को लाभांश हात पार्न सकिन्छ । भाउ सस्तो छ । तुलनात्मकरुपमा कम्पनीहरुले राम्रै लाभांश प्रस्ताव गरिरहेका छन् । यी सबै पक्षहरुलाई लगानीकर्ताहरुले अध्ययन गरिरहेको अनुमान गरिएको छ ।

मुलुकको समग्र अर्थतन्त्रको अवस्था पनि सकारात्मक बाटोमा लागेको छ । यसैगरी, सबल वित्तीय सूचक भएका कम्पनीहरुको सेयर भाउ पनि बटममा आइसकेको छ । बजार वियरिस चक्रमा लागेको पनि १४ महिना पूरा भइसकेको छ । चक्रीय नियमका आधारमा अब विस्तारै वियरिस साइकल पूरा भएर बुलिस सुरु हुने बेला हुन लागेको कतिपय लगानीकर्ताले विश्लेषण गरिरहेका छन् ।

नजिकिएको चुनावमा औपचारिक र अनौपचारिक दुवै माध्यमबाट अरबौं रुपैयाँ बजारमा आउने अनुमान गरिएको छ । बजारमा पैसाको आपूर्ति बढ्ने भएपछि यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने धेरैको विश्लेषण रहेको छ । यी परिदृश्यहरुमा सेयर बजारले सकारात्मक बाटो समाएको अनुमान गरिएको छ ।
यस दिन २२७ कम्पनीको ४३ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ । ३ वटा बाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । ७ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र रिडी हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय