काठमाडौं । करिब साढे ६ लाख नेपालीको राष्ट्रिय परिचयपत्र तयार भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कात्तिक मसान्तसम्म ६ लाख २४ हजार बढी नागरिकको कार्ड छापिएको छ ।
तर आवश्यक जनशक्ति तथा पूर्वाधार नहुँदा छापिएका कार्ड विभागमै थन्किएका छन् । हाल सिंहदरबारस्थित विभागको दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका करिब १० हजार सेवाग्राहीलाई कार्ड वितरण गरिए पनि देशव्यापी रुपमा वितरण कार्य सुरु हुन सकेको छैन ।
विभागका सूचना अधिकारी लक्ष्मण ढकालले तयार कार्डलाई वितरण गर्न थप जनशक्ति र पूर्वाधारको कमी रहेको स्वीकारे ।
ुुकार्ड वितरणका लागि सेवाग्राहीको बायोमेट्रिक पहिचान गर्न फेरि छुट्टै स्टेसन चाहिन्छ । पर्याप्त जनशक्ति र पूर्वधारको व्यवस्था नभएकाले कहिलेदेखि कार्ड वितरण हुन्छ, यसै भन्न सकिन्न उनले भने ।
उनका अनुसार काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयमा रहेका दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका सेवाग्राहीले चाँडै नै कार्ड पाउनसक्ने छन् । यसका लागि दुवै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा ८(८ हजारका दरले कार्ड पठाइएको उनले जनाए ।
अन्य ठाउँमा कार्ड वितरणका लागि ठोस योजना नआइसकेको उनको भनाइ छ ।
यसैबीच राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक करोड बढी नागरिकको विवरण संकलन भएको ढकालले जानकारी दिए । कात्तिक मसान्तसम्म ९९ लाख ५४ हजारको बायोमेट्रिक विवरण संकलन गरिएको छ । ुुमंसिरको आधा सकिँदा एक करोड बढीको विवरण संकलन गरिएको अनुमान छ,ुु उनले भने ।
हाल विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले देशैभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो छ । विभागका अनुसार ४३ जिल्लामा घुम्ती टोलीमार्फत नागरिकको वैयक्तिक एवं जैविक विवरण संकलन कार्य सम्पन्न भएको छ भने थप १५ जिल्लामा यो अभियान सुरु गरिएको छ ।
यसबाहेक ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिन्छ । तर तत्कालै कार्ड दिन नसक्दा विभागले राष्ट्रिय परिचयपत्र नम्बर मात्रै उपलब्ध गराइरहेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ
– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
– नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र
– बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र
– विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल
– राहदानी लिएकाको हकमा सक्कल राहदानी ९सक्कल संभव भएसम्म