बुटवल ।
बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन, विद्युत्, खानेपानी, टेलिफोन तार तथा केवलहरु, छाडा चौपाया, ठेला, इरिक्सा व्यवस्थापनका लागि एकसाथ काम गर्न तयार भएका हुन् । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक र अन्य भित्री सडकहरु निर्माणलाई तीब्र पार्ने, विद्युत र खानेपानी पाइप विस्तारमा सहजीकरण गर्ने निर्णय गरेको छ ।
यस्तै, भित्री सडकहरु निर्माणमा थप तीब्रता दिने गरी डिभिजन सडक कार्यालयले समन्वय गर्ने र टेलिफोन, खानेपानी तथा विद्युतका तार तथा पाइप व्यवस्थापनमा सम्बन्धित कार्यालयहरुले तत्काल काम अघि बढाउने निर्णय बैठकले गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बैठकले मुख्य सडकहरुमा सवारी चालकलाई लेन अनुशासन पालना गराउने, आकाशे पुलको प्रयोग नगर्ने पैदलयात्रीलाई कारबाही गर्ने र सडक क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ ।









