२०७९ पुष ८, शुक्रबार ०८:१७

काठमाडौं । जर्मनीको सडकमा वायरलेस चार्जिङ सिस्टम जडान गरिने भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनीको चर्चित राजमार्ग अटोबह्नुमा वायरलेस चार्जिङ सिस्टम कार्यान्वयनमा ल्याउन लागिएको हो । यद्यपि सुरूवाती चरणमा यो चार्जिङ प्रणाली सार्वजनिक बसले मात्रै प्रयोग गर्न पाउनेछन् ।

बालिङ्गन सहरबाट यात्रु ल्याउने सार्वजनिक सवारीले यो वायरलेस चार्जिङ सेवा पाउने बताइएको छ । इजरायली वायरलेस चार्जिङ कम्पनी इलेक्ट्रेनले जर्मनीको ईभी चार्जिङ पूर्वाधार प्रदायक कम्पनी ‘ईएनबीडब्लू’ सँग सहकार्य गरी ‘वायरलेस अन(रोड चार्जिङ सिस्टम’ उपलब्ध गराउन लागेको हो ।

इलेक्ट्रेनले उक्त सडकको एक भागमा एक किलोमिटर इलेक्ट्रिक रोड सिस्टम समावेश गर्नेछ, जसले बस चलिरहेको अवस्थामा वायरलेस चार्जिङ उपलब्ध गराउने स्रोतले उल्लेख गरेको छ । त्यसका साथै सडकका बस स्टपमा दुई ओटा चार्जिङ स्टेसन समेत राखिने छ ।

यो परियोजना दुई चरणमा सम्पन्न हुने बताइएको छ । पहिलो चरण अन्तर्गत दुई ओटा स्थिर चार्जिङ स्टेसनसहित ४०० मिटर लामो बाटो निर्माण गरिनेछ । त्यसपछिको दोस्रो चरणमा बाँकी ६०० किलोमिटरमा इलेक्ट्रिक बाटो विस्तार हुनेछ ।

यो प्रविधि सुरक्षित, सहज र भरपर्दो भएको इलेक्ट्रेनका सीईओ डाक्टर एन्ड्रेस वेन्ड्टले दाबी गरेका छन् । यस कम्पनीले इटाली र सिड्नीका बाटोमा वायरलेस अन(रोड चार्जिङ प्रणालीमा काम गरिसकेको छ । यस वायरलेस अन(रोड चार्जिङ सिस्टमले बाटोमा लामो समय लाम बसेर चार्ज गर्नुपर्ने झन्झटलाई कम गर्न निर्माण कम्पनीको विश्वास छ ।

सुरुवाती चरणमा यो प्रविधि सार्वजनिक सवारीलाई उपलब्ध गराइने भए पनि निकट भविष्यमा निजी सवारीले पनि पाउनसक्ने कम्पनीको भनाइ छ । यो परियोजना कहिलेबाट सुरु हुन्छ भन्ने कुराको आधिकारिक जानकारी बाहिर आइसकेको भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय