२०७९ भाद्र १८, शनिबार १०:०५


रुपन्देही, भदौ १७
लुम्बिनी प्रदेश सरकारले विपदमा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपदमा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो।

हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले आज सूचना प्रकाशन गरी सोसम्बन्धी कार्यविधि, २०७९ को दफा ४ बमोजिम सात दिनभित्र मन्त्रालयमा सूचीकृत हुन सेवा प्रदायक संस्थालाई आह्वान गरिएको मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले जानकारी दिए।
प्रदेशभित्र विपदमा परी ज्यान जोखिममा परेका व्यक्तिलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा अवतरण गराउने, घाइते व्यक्तिलाई उपचारको आवश्यकता परेमा अस्पतालमा पु¥याउने र अन्य माध्यमबाट सम्भव नभएमा राहत वितरण गर्न, भिषण आगलागीजन्य विपद्को अवस्थामा आगलागी नियन्त्रण गरी नागरिकको जीउ ज्यानको रक्षाका लागि हवाई सेवा प्रयोग गर्ने कार्यविधि बनेको छ।
प्रदेश सुशासन ऐन, २०७६ को दफा ५३ बमोजिम प्रदेश सरकारले यो कार्यविधि बनाएको र कार्यविधि मन्त्रिपरिषद्ले पारित गरिसकेको मन्त्रालयका सूचना अधिकारी पन्थीले बताए। कार्यविधिअनुसार प्राकृतिक र गैरप्राकृतिक विपदमा परेका नागरिकले यो सेवा पाउनेछन्।

प्राकृतिक विपद्अन्तर्गत हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विष्फोट, डढेलो वा अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपदबाट प्रभावित नागरिकले यो सेवा पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय