बेनी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राति १० घरसहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राति ८ बजे कागखोलाबाट आएको बाढीले घर, सार्वजनिक भवन र पुलमा क्षति पुर्याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए ।उनका अनुसार करिब एकसय घरधुरी रहेको कागबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको छ । आइतबार राति ८ बजे भारी वर्षापछि कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो ।
उनले भने,‘‘१० वटा घर, निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताए ।
अहिले बिहानै बाढीग्रस्त क्षेत्रतर्फ जनप्रतिनिधि सहितको टोली हिडेको पालिका अध्यक्ष गुरुङले बताए । मानविय क्षति भने हुन पाएको छैन । बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासीहरु भागभाग गरेका थिए । मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उनले बताए ।