२०८१ पुष २५, बिहीबार १५:२७

जापान।

जापान मौसम विभागले जनवरी १० सम्म जापान सागर क्षेत्र आसापासका केहि भूभागमा भारी हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ। यो मौसम प्रणालीको प्रभाव मुख्यतया होक्काइदो र होन्शुको उत्तर(पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरिएको छ। ती क्षेत्रहरूमा हिउँको मात्रा उल्लेखनीय रूपमा बढ्ने र हिमआँधीका कारण दैनिक जनजीवनमा अवरोध सिर्जना हुने सम्भावना छ।

मौसम विभागले केही स्थानहरूमा एकै रातमा ५० सेन्टिमिटरभन्दा बढी हिउँ जम्न सक्ने उल्लेख गरेको छ। साथै, तीव्र हावाका कारण तापक्रममा ठूलो गिरावट आउन सक्ने र चिसो हावाले स्वास्थ्यमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ। हिमपातसँगै हिमपहिरोको जोखिम बढेको हुनाले पहाडी क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

मौसम विज्ञान एजेन्सीका अनुसार जापानको निगाता,तोहोकु,होकुरिकु,गिफु,किन्की नागानो,यामागुची तथा उत्तरी कान्तोमा विशेष प्रभाव पर्नेछ। ति क्षेत्रहरुमा भारी हिमपात तथा चिसो हावाका कारण जनजिवन पूर्णरुपमा प्रभावित हुने चेतावानी दिइएको छ।

सरकारले स्थानीय बासिन्दाहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, आपतकालीन सामग्री तयारी अवस्थामा राख्न, र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। हिउँको कारण सडक यातायात, रेल सेवा, र उडानमा अवरोध आउन सक्ने भएकाले यातायातका साधन प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ।

जापानी अधिकारीहरूले हिउँमा नचिप्लिने टायरको प्रयोग गर्न, हिमपहिरोको जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, र स्थानीय प्रशासनका सूचना नियमित रूपमा हेर्न सबैलाई अनुरोध गरेका छन्। यो मौसम प्रणाली स्थिर नहुन्जेल सतर्क रहनु महत्वपूर्ण रहेको बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय